२४ असार, बेलका / उदयपुरको बेलका नगरपालिका-९ रामपुरमा विद्युत् जडानको काम गर्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण रामपुर वितरण केन्द्रमा कार्यरत करिब ४० वर्षीय प्राविधिक मिलन राईको उपचारका क्रममा निधन भएको छ।
बुधबार बिहान करिब १०:३० बजे रामपुर नगर अस्पताल नजिकै रहेको विद्युत् पोलमा चढेर मिटर बक्सको तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेसँगै उनी करिब ४ मिटर माथिबाट खसेर गम्भीर घाइते भएका थिए।
घटनापछि उनलाई तत्काल रामपुर नगर अस्पताल पुर्याई प्रारम्भिक उपचार गरिएको थियो। थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएकोमा उपचारकै क्रममा दिउँसो १२:०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
यसैबीच, बेलका नगरपालिकाले एक शोक वक्तव्य जारी गर्दै कर्तव्य पालनाकै क्रममा प्राविधिक राईको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। वक्तव्यमा बेलका क्षेत्रको विद्युतीकरण तथा नागरिकलाई सहज विद्युत् सेवा उपलब्ध गराउन स्वर्गीय राईले पुर्याएको योगदानको उच्च सम्मान गर्दै उनी सदैव स्मरणीय रहने उल्लेख गरिएको छ।
नगरपालिकाले स्वर्गीय राईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, शोकसन्तप्त परिवार, आफन्त तथा उनका सहकर्मीप्रति गहिरो समवेदना व्यक्त गरेको छ।









