अजम्बर पुलामी –
उदयपुर, बेलका। मोरङको एलएक्स सिटी एफसीले रोमाञ्चक टाइब्रेकरमा चिल्ड्रेन हार्ट फुटबल एकेडेमी सुनसरीलाई पराजित गर्दै तेस्रो बेलका गोल्डकप फुटबल प्रतियोगिता-२०८३ को उपाधि चुमेको छ।

बेलका नगरपालिका-६ स्थित लेकाली रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि उपाधिको टुङ्गो टाइब्रेकरबाट लागेको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा एलएक्स सिटीले टाइब्रेकरमा ४-३ गोलको जित निकाल्दै च्याम्पियन बन्न सफल भयो।

उपाधिका लागि दुवै टोलीले सुरुदेखि नै आक्रामक र प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए। निर्धारित समयमा गोलका अवसर सिर्जना भए पनि दुवै टोली गोल गर्न असफल रहे। अन्ततः टाइब्रेकरमा उत्कृष्ट संयम र कौशल देखाएको एलएक्स सिटीले बाजी मार्दै उपाधि आफ्नो नाममा लेखायो।

च्याम्पियन बनेसँगै एलएक्स सिटी मोरङले नगद २ लाख २२ हजार २२२ रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता चिल्ड्रेन हार्ट एफसी सुनसरीले नगद १ लाख ११ हजार १११ रुपैयाँमा चित्त बुझाएको छ।
यसअघि एलएक्स सिटीले पहिलो सेमिफाइनलमा ईस्ट स्टार स्पोर्टिङ क्लब मोरङलाई टाइब्रेकरमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। यस्तै, चिल्ड्रेन हार्टले दोस्रो सेमिफाइनलमा हानामी बीएफसी चितवनलाई टाइब्रेकरमा ४-३ गोलले हराउँदै उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको थियो।

ब्रदरहुड फुटबल क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न क्षेत्रका आठ टोलीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको समापनसँगै तेस्रो बेलका गोल्डकप-२०८३ को उपाधि एलएक्स सिटी एफसी मोरङले आफ्नो पोल्टामा पार्दै ऐतिहासिक सफलता हासिल गरेको छ।













