अजम्बर पुलामी –
उदयपुर / उदयपुरको बेलका नगरपालिकामा तेस्रो बेलका गोल्डकप फुटबल प्रतियोगिता-२०८३ सुरु भएको छ । बेलका नगरपालिका-६ स्थित लेकाली रंगशालामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको उद्घाटन बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले गोल्डकपको सिल्ड अनावरण गर्दै गर्नुभएको हो ।
उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङले धनकुटाको डाँडाबजार एफसीलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गरेको हो । निर्धारित खेल अवधिमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका इस्ट स्टार स्पोर्टिङ क्लब मोरङका युवराज तामाङ म्यान अफ द म्याच घोषित भएका छन् ।

ब्रदरहुड फुटबल क्लब बेलका उदयपुरको आयोजनामा ‘बेलकाको सान, खेलकुद विकासमा हातेमालो हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिता कात्तिक २१ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा कोशी, मधेस र बागमती प्रदेशका चर्चित आठ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ तथा उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । दुवै टोलीलाई सिल्ड, मेडल तथा प्रमाणपत्रसमेत प्रदान गरिने आयोजक क्लबका खेल संयोजक देविन मगरले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । नेवार समुदायको लाखे नाच, मगर समुदायको हुर्रा नाचलगायतका सांस्कृतिक प्रस्तुतिले समारोहलाई थप आकर्षक बनाएको थियो । यस्तै, कोशी जनता रामपुरका एनसीसी विद्यार्थी तथा बेलका तेक्वान्दो डोजाङका खेलाडीहरूले मार्चपास प्रस्तुत गरेका थिए ।

प्रतियोगिताअन्तर्गत भोलि आइतबार गोलबजार स्पोर्टिङ क्लब सिरहा र चिल्ड्रेन हार्ट एफए सुनसरीबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बेलका-६ स्थित लेकाली खेलमैदानमा दिउँसो २ः३० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।













