अजम्बर पुलामी –
२ असार, बेलका / उदयपुरको बेलका नगरपालिकामा आयोजित प्रथम स्वर्गीय नवीन राई स्मृति कप भलिबल प्रतियोगिताको उपाधि बेलका नगरपालिका-६ तित्रीबोटेले जितेको छ।
सोमबार बेलका-६ बुद्धचोकमा सम्पन्न फाइनल खेलमा बेलका-६ झोरापाटालाई पराजित गर्दै तित्रीबोटेले उपाधि हात पारेको हो। विजेता तित्रीबोटेले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता झोरापाटाले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

प्रतियोगितामा बेलका-६ तित्रीबोटेका दीपेन माझी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँसहित शिल्ड प्राप्त गर्न सफल भए। त्यसैगरी, बेलका-६ झोरापाटाका उत्सव अधिकारी उत्कृष्ट सेटर तथा छत्रबहादुर विश्वकर्मा उत्कृष्ट स्पाइकर घोषित हुँदै जनही नगद १ हजार ५ सय रुपैयाँ र शिल्डबाट सम्मानित भए।

विजेता तथा उपविजेता टोलीका खेलाडीलाई बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीले पुरस्कार वितरण गर्नुभएको थियो। जेठ ३१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा बेलका नगरभित्रका १२ वटा टोलीको सहभागिता रहेको थियो।
स्वर्गीय नवीन राईको २०८२ साल जेठ ३१ गते सडक दुर्घटनामा परी निधन भएको थियो। उहाँको स्मृतिमा बेलका नगर युवा तथा खेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गरेको हो।

प्रतियोगिताको समापन समारोह बेलका नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष गोपिलाल राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगरप्रमुख अशोक कार्की तथा अतिथिका रूपमा बेलका नगर सचिवालयका मोहन कार्की, प्रेस संयोजक धुर्वप्रसाद कोइराला, शिक्षक, समाजसेवी, बुद्धिजीवी तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।














