अजम्बर पुलामी –
उदयपुर । उदयपुरको बेलकामा जारी तेस्रो बेलका गोल्डकप फुटबल प्रतियोगितामा चिल्ड्रेन हार्ट फुटबल एकेडेमी सुनसरी फाइनलमा प्रवेश गरेको छ।

बेलका नगरपालिका-६ स्थित लेकाली रंगशालामा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा हानामी बीएफसी चितवनलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै सुनसरी उपाधि नजिक पुगेको हो।

निर्धारित खेल अवधिभर दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रदर्शन गर्दै चितवनका दुई प्रहार बचाउन सफल चिल्ड्रेन हार्टका जर्सी नम्बर १ का गोलरक्षक सन्दीप भट्टराई म्यान अफ द म्याच घोषित भए।

उनलाई म्यान अफ द म्याचबापतको पाँच हजार रुपैयाँ नगदसहित ट्रफी नमुना बेकरी एन्ड क्याफेका सञ्चालक पवन मगर र बसन्त राईले हस्तान्तरण गरेका थिए।

प्रतियोगिताको विजेता टोलीले नगद दुई लाख २२ हजार २२२ रुपैयाँ र उपविजेता टोलीले एक लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

अब उपाधिका लागि आगामी शनिबार LX City FC मोरङ र चिल्ड्रेन हार्ट फुटबल एकेडेमी सुनसरीबीच प्रतिस्पर्धा हुनेछ। आयोजकका अनुसार फाइनल खेल दिउँसो २ बजेबाट सुरु हुनेछ।













