अजम्बर पुलामी-
२२ मंसिर, बेलका / उदयपुरको बेलका नगरपालिका-९, कमलावारीमा स्वर्गीय अभिभावकहरूको सम्झनामा निर्माण गरिएको ‘साकेला स्मृति मञ्च’ आज एक विशेष समारोहका बीच किरात राई यायोक्खा बेलका-९ कमलावारीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
स्व. ममतामयी आमा दिलमाया राई, स्व. बुवा मानबहादुर राई तथा स्व. नन्दसिं राई लगायतको स्मृतिमा निर्माण गरिएको उक्त मञ्च स्व. मानबहादुर राईका छोरा हर्कराज राईका अनुसार परिवारकै तर्फबाट तयार पारिएको हो। करिब ७ लाख ७५ हजार रुपैयाँको लागतमा बनेको स्मृति मञ्च आजै उद्घाटनसहित हस्तान्तरण गरिएको हो।

कार्यक्रममा किरात राई यायोक्खा कमलावारीले स्वर्गीय अभिभावकहरूको छोराछोरी, बुहारी र नाति–नातिनीलाई मायाको चिनो सहित सम्मान पनि प्रदान गरेको थियो।
स्मृति मञ्च हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा बेलका नगरपालिकाकी उप-प्रमुख जिरा राई, वडा नं. ९ का अध्यक्ष भरत घिमिरे, किरात राई यायोक्खा बेलका नगर अध्यक्ष रेनुका राई, राकेश राई, बेलका एफएमका अध्यक्ष महेन्द्र राई सहित स्व. मानबहादुर राईको परिवारका सदस्य, आफन्तजन, समाजसेवी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।












