अजम्बर पुलामी-
१७ मंसिर, बेलका / उदयपुरको बेलका नगरपालिकामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। “अपाङ्गता समावेसी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन” (Fostering disability inclusive societies for advancing social progress) भन्ने नारासहितको कार्यक्रम मंसिर १७ गते, नगरप्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा नगरप्रमुख कार्कीले समावेशी समाज निर्माणमा स्थानीय तहको भूमिकाबारे प्रष्ट पार्दै अपाङ्गमैत्री सेवा प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताएका थिए।
कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूका अधिकार लेखिएको तुल व्यानरसहित र्याली निकालिएको थियो। र्यालीपछि नगरप्रमुख, नेपाल प्रहरी र ट्राफिक प्रहरीको सक्रियतामा रामपुर बजारस्थित वरगाछी चोकमा सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई ५०% भाडा छुट सम्बन्धी अपाङ्गता अधिकार ऐन २०७४ को दफा ३७(२) तथा ज्येष्ठ नागरिक ऐन २०३६ को दफा ९(२) उल्लेख गरिएको सूचना स्टिकर टाँस गरिएको थियो। तोकिएको छुट नपाएमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

कार्यक्रम करुणा फाउण्डेशन नेपाल, वडा कार्यालयहरू, राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश, तथा सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको सहकार्यमा सम्पन्न भएको हो भने मुख्य आयोजक बेलका नगरपालिका नै रहेको छ।












