भदौ १, बेलका / बेलका नगर अस्पताल रामपुरको आकस्मिक कक्ष (Emergency Department) मा कार्यरत स्वास्थ्य सहायक शिव शंकर साहसहित अन्य स्वास्थ्यकर्मीलाई बिरामी पक्षले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ।
साउन ३१ गते राति करिब ८:४५ बजे बेलका नगरपालिका ९ निवासी ६० वर्षीया महिला कुमारी राई जलेर घाइते भएपछि उपचारका लागि अस्पताल ल्याइएका थिए। तत्कालै प्राथमिक उपचार (First aid) र आवश्यक औषधोपचार दिइएको भए पनि थप उपचारका क्रममा स्वास्थ्यकर्मी साहले पूर्ण रूपले आफ्नो कर्तव्य निर्वाह गरिरहेकामा बिरामी पक्षले असहयोगी व्यवहार गर्दै दुर्व्यवहार गरेको अस्पतालले जनाएको छ।
बिरामीलाई थप उपचारको लागि अर्को कक्षमा लैजाने क्रममा स्वास्थ्यकर्मीलाई अपमानजनक शब्द प्रयोग गर्दै हातपात गर्ने प्रयाससमेत भएको अस्पतालले जानकारी दिएको छ। यस्तै घटनाले स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीको सुरक्षा र मनोबलमा नकारात्मक असर पुर्याएको भन्दै अस्पताल परिवारले गम्भीर चासो व्यक्त गरेको छ।
अस्पताल प्रशासनले यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, भविष्यमा कुनै पनि दुर्व्यवहार वा आक्रमण स्वीकार्य नहुने स्पष्ट चेतावनीसमेत दिएको छ।