१५ जेठ, बेलका / १९औँ गणतन्त्र दिवसका अवसरमा बेलका नगरपालिका वडा नं. ९ ले विभिन्न कार्यक्रम गरी दिवस मनाएको छ। वडा कार्यालयको आयोजनामा बेलका नगर सभाहलमा आयोजित कार्यक्रममा समाजसेवी, बुद्धिजीवी तथा व्यवसायी गरी ४० जनालाई दोसल्ला, छाता र मायाको चिनोसहित सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख अशोक कार्की ले समाजको विकास र समृद्धिका लागि विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै बेलकाको समग्र उन्नतिका लागि सबैको साथ आवश्यक रहेको बताउनुभयो।

त्यसैगरी उपप्रमुख जिरा राई ले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै देशले ठूलो परिवर्तन पार गर्दै आजको अवस्थामा पुगेको बताउनुभयो। साथै बेलकाको विकासमा योगदान पुर्याउने व्यक्तिहरूलाई वडा नं. ९ ले सम्मान गरेकोमा खुशी व्यक्त गर्दै सम्मानित सबैलाई शुभकामना दिनुभयो।

वडा अध्यक्ष भरत घिमिरे को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य नानीमाया घिमिरे खतिवडा, सन्तोष थापा, सुवास बस्नेत, कल्पना विश्वकर्मालगायत सुरक्षाकर्मी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।















