कात्तिक १७, बेलका / उदयपुरको चौदण्डीगढी नगरपालिका–४ पैतालिस चोकमा मलद्वारमार्ग हुँदै प्रतिबन्धित लागूऔषध लुकाएर ल्याउँदै गरेका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ करिब पाँच बजे पैदल हिँडिरहेका दुई जनामा शंका लागेपछि पक्राउ गरी नगर अस्पताल चौदण्डीगढीमा एक्स–रे परीक्षण गराएको थियो।
परीक्षणका क्रममा उनीहरूले मलद्वारमा फ्रिजिङ गरी लुकाएका ३३ एम्पुल प्रतिबन्धित लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा चौदण्डीगढी–७ का २४ वर्षीय पर्शुराम तिमल्सिना र सोही नगरपालिकाका ६ नम्बर वडाका २३ वर्षीय बिबेक राई रहेका छन्।
तिमल्सिनाबाट १५ एम्पुल र राईबाट १८ एम्पुल लागूऔषध निकालिएको प्रहरीले जनाएको छ। अस्पतालको सहयोगमा लागूऔषध सुरक्षित तरिकाले निकालिएको र दुबैजनालाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।












