२९ असार, बेलका / बेलका नगरपालिका–४, गुरुङ्गचौरीस्थित श्री जनता नमुना माध्यमिक विद्यालयमा ‘गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति अक्षयकोष’ स्थापना गरिएको छ।
समाजसेवी सोही वडा सिसुवा टोल निवासी भक्त बहादुर बिष्टले आफ्ना पीता स्व .लाल बहादुर बिष्ट र स्व . ससुरा तिलक बहादुर बस्नेतको स्मितिमा अक्षयकोष स्थापनार्थ नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन्।
हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहनुभएका बिष्टको तर्फबाट उक्त रकम उहाँकी श्रीमती राधादेवी बिष्टले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज तामाङ र प्रधानाध्यापक सम्मर राईलाई आज एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो।
रकम हस्तान्तरण पछि विद्यालयको तर्फबाट राधादेवी बिष्टलाई सम्मान स्वरुप दोसल्ला ओढाएर कदर पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सम्मर राई र व्यवस्थापन समितिका अध्यक्ष मनोज तामाङले समाजसेवी भक्त बहादुर बिष्टलाई विदेशमा बसेर पनि शिक्षाक्षेत्रमा गरेको योगदानप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै यस्ता सहयोगले विद्यालय र समुदायलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। साथै, वहाँको दीर्घायु र सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो।
विद्यालय परिवारले अन्य सहयोगी मनहरुलाई पनि यस पुण्य कार्यमा सहभागी हुन अनुरोध गरेको छ।