१७ जेठ, बेलका / उदयपुरको बेलका नगरपालिका-९ भवचुवास्थित कभर्डहलमा आयोजित प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न भएको छ। बेलका ब्याडमिन्टन क्लब रामपुरको आयोजनामा, बेलका नगरपालिकाको मुख्य सहयोग, बेलका नगर खेलकुद विकास समितिको सह-आयोजना तथा सरस्वती डेन्टल केयर सेन्टर प्रालिको प्रायोजनमा सम्पन्न प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भएको हो।

प्रतियोगितामा मेन्स डबल्स “बी” समूह जिल्ला स्तरीय, मेन्स डबल्स भेट्रान्स ४५ प्लस जिल्ला स्तरीय, मेन्स डबल्स युवा समूह बेलका अन्तरस्तरीय तथा सुपर भेट्रान्स ५० प्लस बेलका अन्तर र खुला महिला विधामा प्रतिस्पर्धा गरिएको थियो।

मेन्स डबल्स “बी” समूहमा अदिप मगर र विजय नेपालको जोडी विजेता बने। चित्र थापा र लोकमान श्रेष्ठको जोडी प्रथम रनरअप, आदेश गिरी र चितराज कोइरालाको जोडी दोस्रो रनरअप तथा सविन गजमेर र पदमबहादुर राईको जोडी तेस्रो रनरअप बने।
मेन्स डबल्स भेट्रान्स ४५ प्लसतर्फ बिनोद भट्टराई र लोकमान श्रेष्ठको जोडी विजेता बन्यो। चित्र थापा र मदन राईको जोडी प्रथम रनरअप, देविराज राई र गोविन्द थापाको जोडी दोस्रो रनरअप तथा मणिकुमार राई र लोकमान लामाको जोडी तेस्रो रनरअप बने।

मेन्स डबल्स युवा समूह बेलका अन्तरस्तरीयतर्फ स्माइल राई र हेमकुमार राईको जोडी विजेता बन्यो। अविशेक मण्डल र अविषेक विष्टको जोडी प्रथम रनरअप, ज्योति राई र आशिष राईको जोडी दोस्रो रनरअप तथा नरबहादुर थापा र बाबु कालिकोटको जोडी तेस्रो रनरअप बने।

सुपर भेट्रान्स ५० प्लस बेलका अन्तर तथा खुला महिला विधातर्फ अर्जुन थापा र दीपक कोइरालाको जोडी विजेता बन्यो। महाप्रसाद राई र राजकुमार राईको जोडी प्रथम रनरअप, प्रियाङ्का राई र दिया राईको जोडी दोस्रो रनरअप तथा खड्ग पाखृन र झमक खत्रीको जोडी तेस्रो रनरअप बने।

प्रतियोगिताका विजेताहरूलाई विभिन्न विधाअनुसार नगद पुरस्कार, सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। मेन्स डबल्स “बी” समूहमा क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। त्यस्तै भेट्रान्स ४५ प्लस, युवा समूह तथा सुपर भेट्रान्स ५० प्लस विधाका उत्कृष्ट खेलाडीहरूलाई पनि नगदसहित सम्मान गरिएको थियो।
प्रतियोगिता सफल बनाउन सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाका प्रतिनिधिहरूलाई आयोजकले सम्मान समेत गरेको थियो।

समापन कार्यक्रम बेलका ब्याडमिन्टन क्लबका अध्यक्ष खड्ग पाखृनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बेलका नगर प्रमुख अशोक कार्की, उपप्रमुख जिरा राई, प्रमुख प्रशासकीय अधिकृत बिनोद भट्टराई, इलाका प्रहरी कार्यालयका प्रमुख लोकमान श्रेष्ठ लगायत समाजसेवी, बुद्धिजीवी, खेलप्रेमी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।














