२५ पुष, बेलका / उदयपुरको बेलका नगरपालिका-रामपुरमा बिहीबार नेपाली कम्युनिस्ट पार्टीको नगरस्तरीय ‘एकता सन्देश सभा’ सम्पन्न भएको छ। साबिकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत एक दर्जन वामपन्थी दल र समूह मिलेर गठन भएको नेकपाले केन्द्रदेखि स्थानीय तहसम्म एकता सन्देश सभाहरू सञ्चालन गरिरहेको छ।

सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले नेपाली विशेषताको समाजवाद स्थापनाका लागि बृहत् वाम एकता आवश्यक रहेको बताए। उनले भ्रष्टाचार, कुशासन र देशको सम्पत्ति लुट्ने प्रवृत्तिको विरुद्ध पार्टी दृढतापूर्वक उभिने स्पष्ट पारे। मजदुर, किसानलगायत सबै वर्गको जीवनस्तर उकास्नु र भ्रष्टाचार नियन्त्रण गर्नु नै नेपाली विशेषताको समाजवाद भएको उनको भनाइ थियो।

यस्तै, केन्द्रीय सदस्य बलदेव चौधरीले नेपाली कम्युनिस्ट पार्टी एउटा आन्दोलनबाट जन्मिएको पार्टी भएको उल्लेख गर्दै भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा उच्चपदस्थ अधिकारीहरू सुध्रिनुपर्ने बताए। जेन-जीको भावनाअनुसार कम्युनिस्ट शक्तिहरूबीच एकता गरिएको भन्दै नेपालको परिवर्तन नेकपाले नै गर्न सक्ने दाबी गरे।

केन्द्रीय सदस्य सुरेश कुमार राई हिमालले जनयुद्ध, सशस्त्र संघर्ष र जनआन्दोलनबाट आएका शक्तिहरूबीचको एकताले कम्युनिस्ट आन्दोलनलाई नयाँ जीवन दिएको बताए। नेकपाले सुशासनसहित वैज्ञानिक समाजवादी क्रान्तिको पक्षमा समृद्ध नेपाल निर्माणको अभियान अघि बढाउने उनको भनाइ थियो।

पार्टीका बेलका नगर संयोजक रामकुमार कुवरको अध्यक्षतामा सम्पन्न सभामा विभिन्न गाउँठाउँबाट पार्टी सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।













