साउन २४, बेलका । उदयपुरको बेलका नगरपालिका–६, किरात चौकस्थित निर्माणाधीन भिमसेनथानमा आज एक औपचारिक कार्यक्रमकाबीच क्वाँटी पूर्णिमाको अवसरमा लाखे जात्राको सुरुवात भएको छ।
“जातीय संस्कार हाम्रो सान, नेवा संस्कृति हाम्रो पहिचान” भन्ने मूल नारा सहित बेलका–३ नेवारटोल, उदयपुरद्वारा सञ्चालित यस कार्यक्रमको अध्यक्षता सुस्मा श्रेष्ठले गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्की, विशिष्ट अतिथि नगर उप–प्रमुख जिरा राई, नेवाद्वय दबुका कोशी प्रदेश सदस्य श्याम श्रेष्ठ, वडा नं ३ का वडाध्यक्ष टंक प्रसाद आचार्य, समाजसेवी महेन्द्र राई, जनजाति महासंघका पूर्व अध्यक्ष ललित राई लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा शुभकामना राख्दै प्रमुख अतिथि अशोक कार्कीले यस्ता पर्वले एकता, संस्कृति तथा संस्कार जोगिने विश्वास व्यक्त गर्नुभयो। त्यसै गरी विशिष्ट अतिथि उप–प्रमुख जिरा राईले सम्पूर्ण आदिवासी जनजातिहरूले आफ्नो संस्कृति,भाषा र पहिचान संरक्षणका लागि अझ बढी जागरुक हुनुपर्नेमा जोड दिनुभयो।
यस अवसरमा आफ्नै जातीय भेषभूषामा नेवा समुदायसँगै गैर–नेवाहरूको समेत बाक्लो सहभागिता रहेको थियो भने लाखे नाचको विशेष प्रदर्शनसमेत गरिएको थियोे ।