८ जेठ, बेलका / उदयपुरको बेलका नगरपालिका-५ स्थित श्री जनता माध्यमिक विद्यालय जहडामा स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ। नेकपा एमालेका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको अगुवाइमा संकलन गरिएको उक्त रकम विद्यालयमा आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो।
विद्यालयले आयोजना गरेको २०८२ सालको वार्षिक परीक्षामा कक्षा १ देखि १० सम्म उत्कृष्ट नतिजा हासिल गर्ने प्रथम, द्वितीय र तृतीय छात्र-छात्रालाई पुरस्कार वितरण कार्यक्रमसँगै अक्षय कोष हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका सदस्य रुद्र विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोविन्द बहादुर खड्का प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा नेकपा एमाले बेलका नगर कमिटी का अध्यक्ष हिराजंग राई, टंक अधिकारी, गणेश बस्नेत लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नगर अध्यक्ष हिराजंग राईले अक्षय कोषको उद्देश्य, आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै “सुखी नेपाली, समृद्ध नेपाल, बालअधिकार हामी सबैको सरोकार” भन्ने मूल नाराका साथ स्थापना गरिएको उक्त कोषबाट विद्यालयमा अध्ययनरत अति विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रत्येक वर्ष शैक्षिक सामग्री वितरण गरिने जानकारी दिए।

कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण सहयोगीदाताप्रति धन्यवाद तथा आभार व्यक्त गर्दै विद्यालय परिवारले पनि अक्षय कोष स्थापना कार्यलाई सकारात्मक रूपमा ग्रहण गरेको जनाएको छ।












