३१ बैशाख, बेलका / बेलका नगर प्याब्सनको आयोजना तथा युनिक शिशु सदन प्रा.लि., बेलका ४ को सहकार्यमा अन्तर संस्थागत विद्यालय हाजिरजवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा बेलका नगर प्याब्सन सचिव श्री ललित राईज्यूको सभाअध्यक्षता रहेको थियो भने प्रमुख अतिथिको रूपमा बेलका नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष तिर्थराज अधिकारीज्यूको उपस्थिति रहेको थियो। विशेष अतिथिका रूपमा विभिन्न विद्यालयका संचालक तथा प्रधानाध्यापकज्युहरु तथा अतिथिका रूपमा सम्पूर्ण विद्यालयका प्रतिनिधि शिक्षकज्यूहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूबीच रोचक र प्रतिस्पर्धात्मक वातावरणमा हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको थियो। प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास तथा नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याएको विद्यालयले जनाएको छ।

यसै अवसरमा युनिक शिशु सदनमा कक्षा ८ सम्म अध्ययन गरी हालै सम्पन्न SEE परीक्षामा उत्कृष्ट GPA हासिल गर्न सफल विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। विद्यालयका सञ्चालक समीर गुरुङ् ज्यु, प्रधानाध्यापक श्री लेखनाथ सुवेदीज्यू तथा प्रमुख अतिथिबाट सम्मानपत्र प्रदान गर्दै विद्यार्थीहरूको मेहनत, अनुशासन र लगनशीलताको उच्च प्रशंसा गरिएको थियो। सम्मानपत्रमा “For securing an outstanding GPA in the SEE Examination” उल्लेख गर्दै विद्यार्थीहरूको सफलताले विद्यालय परिवारलाई गर्व र खुसी प्रदान गरेको कुरा व्यक्त गरिएको थियो। साथै विद्यार्थीहरूको समर्पण, कठिन परिश्रम, अनुशासन र दृढ संकल्प सम्पूर्ण विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरिएको थियो।

उत्कृष्ट GPA प्राप्त गर्ने विद्यार्थीहरूको तर्फबाट रिकेश अधिकारीले मन्तव्य व्यक्त गर्दै आफ्नो सफलतामा विद्यालय, शिक्षक तथा अभिभावकको महत्वपूर्ण योगदान रहेको बताए। उनले निरन्तर मेहनत, नियमित अध्ययन र अनुशासनले सफलता प्राप्त गर्न सकिने भन्दै साना भाइबहिनीहरूलाई पनि लक्ष्यप्रति दृढ भएर अगाडि बढ्न प्रेरित गरेका थिए।
कार्यक्रमको सञ्चालन युनिक शुशु सदनका शिक्षक सितल अधिकारीले गर्नुभएको थियो।











