अजम्बर पुलामी –
बेलका, कात्तिक २३ / बेलका नगरपालिकाले गाई–भैंसीमा फैलिने खोरेत (Lumpy Skin Disease) रोग नियन्त्रणका लागि निःशुल्क खोप अभियान सुरु गरेको छ। “पशुजन्य पदार्थको निर्यातमा टेवा पुयाई पशुपालकलाई आर्थिक रूपमा समृद्ध बनाऔँ” भन्ने नारासहित सुरु गरिएको यो अभियानको उद्घाटन नगरप्रमुख अशोक कार्कीले गर्नुभएको हो।
कार्यक्रममा पशु सेवा शाखाका कर्मचारी, खोप अभियन्ता, जनप्रतिनिधि तथा स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा नगरप्रमुख कार्कीले पशुपालन किसानहरूको मुख्य आर्थिक आधार भएको उल्लेख गर्दै सबै किसानहरूलाई आफ्ना चौपायामा खोप लगाई रोगमुक्त बनाउन आग्रह गर्नुभयो।
रामपुरस्थित नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा सञ्चालन भइरहेको यो अभियानमा प्रदेश पशु सेवा निर्देशनालय विराटनगर र पशु सेवा कार्यालय उदयपुरको सहयोग रहेको छ। खोप अभियान मंसिर २३ गतेसम्म चल्नेछ, जसअन्तर्गत बेलका नगर क्षेत्रका सबै वडाका चौपायामा निःशुल्क खोप सेवा उपलब्ध गराइनेछ।
बेलका नगरपालिकाले सबै किसानहरूलाई आफ्ना गाई–भैंसीमा समयमै खोप लगाई पशु स्वास्थ्य सुरक्षित राख्न र उत्पादन वृद्धि गर्न आग्रह गरेको छ।












