बेलका, उदयपुर । बेलका पोस्ट प्राइभेट लिमिटेडको आयोजना तथा बेलका नगरपालिकाको सहकार्यमा बेलका नगरपालिकाभित्रका २० वटा माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई लक्षित गरी शिक्षण-सिकाइ, वित्तीय साक्षरता, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तथा साइबर सुरक्षासम्बन्धी तालिम कार्यक्रम सुरु भएको छ।

श्री जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरीमा सुरु भएको तालिममा नगरभित्रका २० माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको छ। तालिमबारे बेलका पोस्ट प्राइभेट लिमिटेडका सञ्चालक सहदेव राईले जानकारी दिएका हुन्।

कार्यक्रमका प्रमुख अतिथि बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीले शिक्षा, प्रविधि र सेवाप्रवाहलाई आधुनिक बनाउने दिशामा एआईको प्रयोग महत्वपूर्ण हुने बताए। उनले स्थानीय सरकारले नै नागरिकलाई एआईसम्बन्धी सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

तालिममा एआईको परिचय, विभिन्न एआई टुल्सको प्रयोग, आधारभूतदेखि उन्नत प्रयोग, एआईमा आधारित शिक्षण सामग्री निर्माण तथा कक्षाकोठामा यसको व्यावहारिक प्रयोगबारे प्रशिक्षण दिइनेछ। साथै वित्तीय साक्षरता र साइबर सुरक्षासम्बन्धी विषयमा समेत सहभागीलाई जानकारी तथा सीप प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा शिक्षण-सिकाइमा एआई प्रयोगसम्बन्धी विज्ञहरू ओशन शर्मा कट्टेल, शुभम थामा र पृतम शाहले सहजीकरण गरिरहेका छन्।
तालिमले शिक्षक तथा विद्यार्थीहरूलाई डिजिटल प्रविधिको सुरक्षित, प्रभावकारी र व्यावहारिक प्रयोग गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।













