अजम्बर पुलामी –
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा जारी तेस्रो बेलका गोल्डकप फुटबल प्रतियोगिता-२०८३ मा हानामी बीएफसी चितवन सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक ब्रदरहुड फुटबल क्लब बेलकालाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै चितवनले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

बेलका नगरपालिका-६ स्थित लेकाली रंगशाला खेलमैदानमा सम्पन्न क्वार्टरफाइनल खेलमा चितवनको जितका लागि सबिन लुङ्गेलीले ह्याट्रिक गरे । चितवनका जर्सी नम्बर १७ का लुङ्गेलीले खेलको पाँचौँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि जर्सी नम्बर ११ का सिर्जनराज क्षेत्रीले २३औँ मिनेटमा गोल थप्दै पहिलो हाफमा चितवनलाई २-० को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि चितवनले आक्रामक खेललाई निरन्तरता दियो । सबिन लुङ्गेलीले खेलको ५०औँ र ७०औँ मिनेटमा थप दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । उनको उत्कृष्ट प्रदर्शनसँगै चितवनले आयोजक ब्रदरहुडलाई ४-० गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो ।

ह्याट्रिकसहित टोलीको जितमा महत्वपूर्ण योगदान दिएका चितवनका सबिन लुङ्गेली खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । उक्त पुरस्कार नमुना बेकरी एन्ड क्याफेका सञ्चालक बसन्त राईले हस्तान्तरण गरेका थिए । नमुना बेकरी एन्ड क्याफेले प्रतियोगिताका सम्पूर्ण खेलको म्यान अफ द म्याच पुरस्कार प्रायोजन गर्दै आएको छ ।

यस खेलसँगै प्रतियोगिताका सम्पूर्ण क्वार्टरफाइनल खेल सम्पन्न भएका छन् । अब भोलि हुने पहिलो सेमिफाइनलमा ईस्ट स्टार स्पोर्टिङ क्लब मोरङ र एलएक्स सिटी एफसी मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

आयोजकका अनुसार सेमिफाइनल खेल बेलका नगरपालिका-६ स्थित लेकाली रंगशाला खेलमैदानमा दिउँसो ठीक ३ बजे सुरु हुनेछ ।













