अजम्बर पुलामी –
२ मंसिर, बेलका / “साकेला सिलि प्रशिक्षण हाम्रो आव्हान, जोगाऔँ आफ्नो संस्कृति र पहिचान” भन्ने मूल नारासहित उदयपुरको बेलका नगरपालिका–७, मैनामैनीमा सोमबारदेखि निशुल्क साकेला शिलि (नृत्य) प्रशिक्षण सुरु भएकाे छ। किराती समुदायको महान पर्व उधौलीको अवसर पारेर मंसिर १ गतेदेखि १८ गतेसम्म दक्ष तथा अनुभवी शिलीमाङ्पाहरूको मार्गदर्शनमा प्रशिक्षण सञ्चालन हुने आयोजकहरूले जनाएका छन्।
कार्यक्रमका प्रायोजक जलन किरातीका अनुसार मंसिर १९ गते शिलि प्रदर्शन तथा राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुतिसहित प्रशिक्षण समापन कार्यक्रम गर्ने तयारी गरिएको छ। सामाजिक अभियन्ता निना महाङ राई र जलन राईको सक्रियतामा सञ्चालन भइरहेको यस प्रशिक्षणले किराती संस्कार–संस्कृति संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्य राखिएको छ।
स्थानगत विविधता समेट्दै प्रशिक्षण चार स्थानमा सञ्चालन हुनेछ। मुख्य प्रशिक्षण केन्द्र मुलगाउँस्थित श्री मैनामैनी माध्यमिक विद्यालय रहने निनाम हाङ राईले जानकारी दिनुभयो । स्थानीय युवाहरूलाई मौलिक संस्कृति सिक्न, बुझ्न र अभ्यास गर्न प्रेरित गर्ने उद्देश्यका साथ प्रशिक्षण सुरु गरिएको हो।
यस कार्यक्रमका प्रायोजक निनाम हाङ राई समाजसेवी तथा जलन राई स्वास्थ्यकर्मी रहेका छन् ।










