अजम्बर पुलामी –
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा जारी तेस्रो बेलका गोल्डकप फुटबल प्रतियोगिता-२०८३ मा चिल्ड्रेन हार्ट एफए सुनसरीले विजयी यात्रा अघि बढाएको छ । सुनसरीले सिराहाको गोलबजार स्पोर्टिङ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै जित दर्ता गरेको हो ।

आज सम्पन्न प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता भने गोलबजार स्पोर्टिङ क्लब सिराहाले लिएको थियो । खेलको पाँचौँ मिनेटमा जर्सी नम्बर ९ का करण चौधरीले गोल गर्दै गोलबजारलाई १-० को अग्रता दिलाएका थिए ।
पहिलो हाफमा पछि परेको चिल्ड्रेन हार्ट एफएले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो । खेलको ४८औँ मिनेटमा जर्सी नम्बर ७ का पुजन चौधरीले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५६औँ मिनेटमा जर्सी नम्बर १८ का अशिम राईले निर्णायक गोल गर्दै चिल्ड्रेन हार्ट एफएलाई २-१ को जित दिलाए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका चिल्ड्रेन हार्ट एफएका जर्सी नम्बर १८ का अशिम राई ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत भोलि बुट्टाबारी युनाइटेड क्लब झापा र एलएक्स सिटी एफसी मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।













