अजम्बर पुलामी,बेलका । उदयपुरको बेलका नगरपालिका-३ स्थित किरात चौक खेलमैदानमा सञ्चालन भएको दोस्रो किरात चौक कप२०८३ खुला पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ। “राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल” भन्ने मूल नारासहित योङ बोइज फुटबल क्लबको आयोजनामा साउन २३ गतेदेखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन गरिएको थियो।

प्रतियोगिताको फाइनलमा रियल डुम्रीबोटे फुटबल क्लबले बुद्ध एकता क्लबलाई २-१ गोल अन्तरले पाखा लगाउदै उपाधि जितेको छ। विजेता रियल डुम्रीबोटेले नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बुद्ध एकता क्लबले १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ।

निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको पहिलो हाफमा रियल डुम्रीबोटेका अमन मगरले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा बुद्ध एकताका हिमाल मगरले गोल गर्दै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा पुनः अमन मगरले व्यक्तिगत दोस्रो गोल गर्दै रियल डुम्रीबोटेलाई उपाधि दिलाए।

प्रतियोगितामा १२ वटा टोलीको सहभागिता रहेको थियो। समापन समारोह क्लबका अध्यक्ष बिकु बायुङ राईको सभाध्यक्षता तथा बेलका नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष गोपिलाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।कार्यक्रममा श्रम संस्कृति पार्टी बेलका नगर अध्यक्ष सुरेन्द्र खालिङ राई लगायत खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूमा उत्कृष्ट गोलकिपर असिब राई, सर्वाधिक गोलकर्ता अमन मगर, उत्कृष्ट डिफेन्डर सुशील थापा, प्लेयर अफ द टुर्नामेन्ट राहुल तामाङ र उदीयमान खेलाडी सञ्जय थापा घोषित भएका छन्।












