
१० पुष – बेलका। बेलका ८ डुड्खोला स्थित यलम्बर एकता सेवा समाज द्वारा आयोजित प्रथम यलम्बर कप २०८१ मा बराहक्षेत्र फुटबल क्लब, सुन्सरी सेमिफाइनलमा प्रवेश गरेको छ। यलम्बर खेलमैदानमा आज भएको खेलमा ब्रदरहुड फुटबल क्लब, बेलका उदयपुरलाई ट्राइब्रेकरमा ४ – ५ गोल अन्तरले पराजित गर्दै बराहक्षेत्र सेमिफाइनलमा प्रवेश गरेको हो।
खेलको निर्धारित समयावधिमा २ – २ गोल भएपछि पेनाल्टी शुटआउट(ट्राइब्रेकर) मा खेल धकेलिएको हो। आजको म्यान अफ द म्याच बराहक्षेत्रका बिवस लिम्बु घोषित भए। उनलाई ब्रदरहुड फुटबल क्लबका टिमले नगद रु.१००५/- सहित ट्रफीले पुरस्कृत गर्नु भयो।
विभिन्न पालिकाको ८ वटा टिमको सहभागीता रहेको यस प्रतियोगितामा बिजेता टिमले नगद रु.३५,००५/- सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन भने उप बिजेता टिमले नगद रु.२०,००५/- सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने आयोजकका अध्यक्ष भरत राई ले बताउनु भयो। साथमा अन्य बिधागत पुरस्कार समेत रहेको आयोजकका जबिन राईले बताउनु भयो।
हात्तिसार सामुदायिक बन उपभोक्ता समितिको सह-आयोजना, ब्रदरहुड फुटबल क्लबको प्राबिधिक सहयोग तथा रेडियो बेलका एफ.एम. १००.९ मेगाहर्जको मिडिया पार्टनर र प्रत्यक्ष प्रसारणमा पुष १६ गते सम्म संचालन हुने प्रतियोगिताको भोलि पुष ११ गते बिहिबार यलम्बर स्पोर्टिङ क्लब(आयोजक) बेलका उदयपुर र मैत्री युवा परिवार रामधुनी २ शिवनगर सुन्सरी बिच दिउसो २ बजेबाट खेल हुने आयोजकका व्यवस्थापक राजु राई ले बताउनु भयो।

