
२४ फागुन – बेलका। ११५औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारी बेलका नगरपालिकाले शनिवार सेनिटरी प्याड रिफ्रेशमेन्ट सेन्टर तथा स्तनपानकक्ष र बालमैत्री सूचना सिकाई केन्द्रको उदघाटन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बेलका नगरपालिकाको परिसरमा सो कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका सभाध्यक्ष बेलका नगरपालिकाको उप प्रमुख जिराका राईले महिला दिवसको पृष्ठभूमि तथा महिलाहरुको अवस्था सम्बन्धि विभिन्न कालखण्डहरु बारे स्मरण गर्दै अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो। महिला विरुद्ध हुने शोषण, दमन र अमानवीय व्यवहार विरुद्ध सचेत रहन तथा समाजमा सचेतना जगाउने यस दिवस र कार्यक्रमको मुख्य उद्धेश्य रहेको उप प्रमुख राईले बताउनु भयो। उहाँले महिलाहरुका विषयसँग सम्बन्धित कार्यक्रम सञ्चालन हुँदा पुरुषहरूले ध्यानाकर्षण नदिने तथा संवेदनशिल नहुने गुनासो समेत पोख्नु भएको थियो।
कार्यक्रम कार्यकमका रुपमा मात्र नभएर महिलाहरुले विशेष महसुस गर्ने प्रकारका गतिविधिहरु समेत गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्कीले बताउनुभयो।
महिला तथा बालबालिका शाखा प्रमुख ज्योति प्रीति राईका अनुसार स्तनपान कक्षमा महिला कर्मचारी तथा सेवाग्राहीहरुले पालिकामा आउदा बच्चा लिएर सहजरूपमा स्तपान गराउन सकुन भनेर वेड कुर्सी तथा बालबालिकाहरुलाई खेलौनाको व्यवस्था गरिनेछ। त्यसैगरी सेनेटरि प्याड रिफ्रेसमेन्ट सेन्टरमा महिला कर्मचारी तथा सेवाग्राहीहरु महिनावारी भएमा प्याड चेन्ज गर्ने आराम गर्ने कक्षको व्यवस्था हुनेछ र बालमैत्री सूचना सिकाई केन्द्रमा भने बालबालिकाको लागि पुस्तक सहितको पुस्तकालय रहने छ। यस कक्षमा बालबालिकाहरु बसेर अध्ययन अवलोकन गर्न सकिने सुचना सामाग्रीका साथै बाल सञ्जालको बैठक तथा अपांगता समन्वय समितिको बैठक समेत बसिनेछ।
कार्यक्रममा वडा अध्यक्षहरु, सदस्य तथा कार्यपालिका सदस्यहरु, बिषयगत शाखा प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकाय लगायतको उपस्थिति रहेको थियो। नगरपालिकाको महिला कर्मचारीहरुले महिला सम्बन्धि जनचेतना र सन्देशमुलक सामुहिक नृत्य प्रस्तुत गर्नु भएको थियो भने कल्पना सुर्खेतिले `म छोरी मान्छे न हुँ´ शिर्षकको मर्मस्पर्शी कविता समेत वाचन गर्नु गर्नु भएको थियो।
