
बेलका । बेलका नगरपालिका – २, उदयपुरका युवा शहदेव राई Emerging Space Leaders Award 2024- ‘उदियामान अन्तरिक्ष नेता २०२४’ को अवार्डले इटालीको मिलान शहरमा सम्मानित भएका छन् । नेपाल एष्ट्रोनोमिकल सोसाइटीसँग आवद्द भई ग्रामिण समुदायमा खगोल तथा अन्तरिक्ष विज्ञानको क्षेत्रमा उनले गरेका कार्यहरुका आधारमा अन्तरार्ष्ट्रिय एश्त्रोनटिकल महाससंघ (International Astronautical Federation-IAF)ले उनलाई यस अवार्ड प्रदान गरेको हो।
यसै दौरान अवार्डीका रुपमा उनले उनले गत अक्टोबर १० देखि १८ सम्म Space Generation Advisory Council द्वारा आयोजित Space Generation Congress Workshop, संयुक्त राष्ट्र संघ(United Nations) द्वारा आयोजित UN/IAF Workshop र अन्तरार्ष्ट्रिय एश्त्रोनटिकल महाससंघ द्वारा आयोजित अन्तरार्ष्ट्रिय एश्त्रोनातिकल सम्मेलन २०२४ International Astronautical Congress-IAC 2024) मा नासोका माध्यमबाट नेपाललाई प्रतिनिधित्व गर्दै सहभागी भएका थिए ।
अन्तरिक्ष विज्ञानको क्षेत्रमा कार्यरत उत्कृष्ट विद्यार्थी, युवा वैज्ञानिक तथा उद्यमीहरुलाई उनीहरूले गरेको अनुसन्धान तथा योगदानको आधारमा छनोट गरी महासंघले यस वर्षका लागि विश्व भरीबाट ३० जनालाई ‘२०२४ आई. ए. एफ. ईमर्जिङ स्पेस लिडर्स’ का रूपमा घोषणा गरेको हो । उक्त घोषित ३० उदीयमान अन्तरिक्ष नेताहरू मध्ये नेपाल एष्ट्रोनोमिकल सोसाइटीसँग आवद्द रही अन्तरिक्ष विज्ञान शिक्षा तथा आउटरिचको क्षेत्रमा कार्यरत उदयपुरका शहदेव राई र अन्तरिक्ष प्रतिष्ठानसँग आवद्द रहि मुनाल स्याटेलाइट क्युबस्याट जस्ता प्रोजेक्टमा कार्यरत रहेकि काठमाडौँकि तृष्णा श्रेष्ठ समेत गरी नेपालबाट दुइजनाले अवार्ड हात पार्न सफल भएका हुन् ।
विश्वको अग्रणी अन्तरिक्ष वकालत निकायको रूपमा परिचित अन्तर्राष्ट्रिय एस्ट्रोनटिकल महासंघमा ७७ देशका ५१३ अन्तरिक्ष संस्था, कम्पनी, विश्वविद्यालय, समाज, संगठन, संग्रालय इत्यादिहरू सदस्य रहेका छन् । महासंघले वार्षिक रूपमा आयोजना गर्ने अन्तर्राष्ट्रिय एस्ट्रोनटिकल सम्मेलनमा अन्तरिक्ष विज्ञानको क्षेत्रमा आवद्द भएर काम गरिरहेका व्यक्तिहरुले आ-आफ्नो कार्यपत्र तथा अनुसन्धान पत्रहरु प्रस्तुत गर्ने गर्दछन् । यसका साथै यस सम्मेलनमा अन्तरिक्षसँग सम्बन्धित अनुसन्धान, शिक्षा, प्रविधि तथा उद्यमशीलता जस्ता आयामहरुको विकास र प्रवर्द्धनका लागि विश्वव्यापी रुपमा जोड दिने गरिन्छ । ११,००० भन्दा बढी मानिसले सहभागिता जनाएको यस सम्मेलनमा विश्व विख्यात अन्तरिक्ष सम्बन्धित कार्यरत संस्थाहरु जस्तै नासा, इस्रो, जाक्सा, युरोपिअन स्पेस एजेन्सि तथा अन्य अन्तरिक्ष यात्री वैज्ञानिक, विषय विज्ञ तथा अन्तरिक्ष उद्यमीहरुका समेत उपस्थिति रहेको थियो।