६ माघ २०८० – बेलका। बेलका नगरपालिका ८ सेती खोलाको ढुङ्गा, गिट्टी बालुवा उत्खनन तथा बिक्री कर उठाउने सम्बन्धि स्थानीय टोल बिकास संस्थासंग समन्वय नगरी र स्थानीयलाई जानकारी नदिइ बेलका सरकारले ठेक्का दरभाउपत्र आह्वान गरेको साथै खोलाको ढुङ्गा, गिट्टी निकाल्दा धेरै बस्तीहरु जोखिम हुने भन्दै स्थानीयहरुको व्यापक गुनासो गरेका छन।
ढुङ्गा, गिट्टी बालुवाबाट बेलका नगरपालिकालाई आर्थिक स्रोतमा वृद्धि हुने र त्यसबाट बेलकाको बिकासमा सहयोग हुने भएता पनि खोला नियन्त्रण नगरी ढुङ्गा, गिट्टी बालुवा उत्खनन गर्दा बस्तीहरुलाई जोखिम हुने, असर हुने भएकोले स्थानीयले गुनासो राखेको हो।
बेलका नगरपालिका ८ सेतिखोलाका गौरिशङ्खर टोल बिकास संस्था, वरपीपल टोल बिकास संस्था, साकेला टोल बिकास संस्था लगायत ५ वटा टोल बिकास संस्थाले आज एउटा आम भेला तथा बैठक समेत राखेको थियो। स्थानीयहरुसंग समन्वय नगरी, जानकारी नदिइ बस्तीहरुलाई जोखिम हुने गरि ढुङ्गा, गिट्टी बालुवा उत्खनन नगर्न बेलका नगर सरकारलाई आग्रह समेत गरेका छन। यदि स्थानीयको कुरा सम्बोधन नभए अझ कडा रुपमा लागि पर्ने र उक्त कार्य रोकावट गर्ने चेतावनी समेत दिएका छन।
बेलका नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन, संकलन बिक्री कर उठाउने सम्बन्धि मिति २०८०/09/११ गतेका दिन बोलपत्र आह्वान गरेको थियो। र सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सुचना यहीँ माघ ४ गते प्रकाशन गरेको थियो। जस अन्तर्गत सेतीखोला क्षेत्रबाट दिगो रुपमा ढुङ्गा, तथा गिट्टी बालुवा उत्खनन/संकलन नामक दरभाउपत्रको बेलका ९ गहतराज निर्माण सेवा संग रु.१३,१२,०००/- (मु.अ.कर सहित) स्वीकृत भएको हो।
