
१२ माघ २०८० – बेलका। उदयपुर जिल्ला बेलका नगरपालिकाको ४६ विपन्न घरपरिवारलाई फाइबर सिरक वितरण गरिएको छ। श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, प्रारम्भिक समिति बिराटनगरको आयोजना तथा इलाका प्रहरी कार्यलय रामपुरको समन्वयमा उक्त सिरक आज वितरण गरिएको हो।
बेलका नगर प्रमुख अशोक कार्की, उप प्रमुख जिरा राई साथै वडा अध्यक्षहरु, श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय उपाध्यक्ष टंक ओझा, सदस्यहरु गोपाल ढकाल, गोकुल कोइराला, मोरङ जिल्लाका अध्यक्ष माधव भट्टराई, विराटनगर प्रा. स. अध्यक्ष मदन लामिछाने, सचिब राज ढकाल, इलाका प्रहरी कार्यलय रामपुरका प्रमुख ऋषि राज ढकाल स्थानीय लगायतको उपस्थिति र सहभागीतामा बेलका नगरपालिकाको वडा नम्बर ५, २ का विपन्न परिवारलाई सिरक वितरण गरेको हो।
प्रा. स. विराटनगरका सचिब राज ढकालका अनुसार श्रीकृष्ण प्रणामी युवा परिषद एउटा सेवामूलक संस्था हो। ढकालका अनुसार यो संस्थाले अफ्ठ्यारोमा परेका व्यक्ति एवं परिवारलाई सहयोग गर्ने गर्दछ। “जात धर्म भन्दा माथी, मानवता हाम्रो साथी” भन्ने मुल नाराका साथ संचालन रहेको यो संस्थाको केन्द्रिय कार्यलय काठमाडौमा छ भने देशको विभिन्न ठाउँमा १२५ भन्दा बढी यसको शाखाहरु रहेको छ। यो संस्थाले दुर्व्यसन सम्बन्धि जनचेतनामूलक कार्यक्रम र रोकथामका कार्यहरु समेत गरिरहेको र आगामी दिनमा पनि गर्ने ढकालले बताए।
