२५ असार, बेलका- बेलका नगरपालिकाको चौधौं नगर अधिवेशन सम्पन्न भएको छ । मंगलबार नगर सभामा आयोजित चौधौं नगर अधिवेशन मार्फत चालू आ.व. को अहिलेसम्म भएका प्रगति संशोधित बजेट तर्जुमाका साथै अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । नगर सभामा बेलका नगरपालिकाका उपप्रमुख जिरा राईले अहिलेसम्म भएका प्रगति प्रतिबेदन संशोधित बजेट तर्जुमाका साथै मध्यवर्ती समिक्षाको प्रतिबेदन पेश गरेकी थिइन । नगरपालिका अन्तर्गत नगरपालिकाले अपेक्षित उपलब्धि हासिल गरेको उनको भनाइ थियो ।

नगर सभाले संशोधित बजेट योजना तथा कार्यक्रम बहुमतले पारित गरेको छ । यसैगरि नगर सभामा सभाध्यक्ष तथा नगर प्रमुख अशोक कार्कीले विभिन्न विषय माथी प्रस्तावहरु गरेका थिए ।
रामपुर खानेपानी आयोजना स्थलमा स्व. पदम बहादुर खड्का स्मृति रामपुर खानेपानी आयोजना भनी शिलालेख राखिएको अनुमोदन गर्ने सम्बन्धमा, बेलका लेखा समितिको प्रतिवेदन सम परिक्षणका लागि मलेप समक्ष पेश सम्बन्धमा, एम्बुलेन्स र शव वाहन सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी नगर अस्पताललाई दिने सम्बन्धमा, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीको सम्बन्धमा, चालू आ.व. मा सम्झौता भई कार्य सम्पन्न भएका तर श्रोत अभाव लगायतका भुक्तानी हुन नसकेका योजनाहरुको अगामी आर्थिक वर्षमा भुक्तानी बाकी शिर्षकमा रकम व्यवस्थापन गरि भुक्तानी दिने सम्बन्धमा, उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाको सिमा तथा लागत साझेदारी सम्बन्धमा , तलब पारिश्रमिक पुनरावलोकन तथा प्रोत्साहन सुविधा सम्बन्धमा, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरुले सेवा निवृत्त कल्याण कोष स्थापना गर्नका लागि कार्यविधि निमार्ण गर्ने सम्बन्धमा र कृषि स्नातकको पारिश्रमिक माग गर्ने सम्बन्धमा नगर सभामा प्रस्ताव पेश गरे ।

नगर सभाको अवसरमा विभिन्न १० वटा विषय सहित अन्य विविध विषयमा छलफल भएको थियो । नगर सभामा प्रस्तुत सम्पुर्ण विषय नगर सभाबाट पारित भएको नगर प्रमुख अशोक कार्कीले बताए । उनका अनुसार तत्कालका लागि नगरपालिकामा अत्यावश्यक रहेका विषयहरूमा नगर सभामा छलफल भएको थियो । नगर सभा सदस्यहरु विच ती विषयमा छलफल भएको अधिकांस विषय पारित गरिएको नगर प्रमुख कार्कीले बताए ।