
१० माघ २०८० – बेलका। गत राती बेलका नगरपालिकाको दुईवटा सहकारीमा चोरी भएको छ। बेलका नगरपालिका ९ रामपुर स्थित महिला साना किसान कृषि सहकारी संस्था लि. र सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. मा चोरी भएको हो।
महिला साना किसान कृषि सहकारी संस्था लि. मा मुल चेनगेटको चाबी साथै ढोकाको चाबी फुटाएर (आर्थिक कारोबार गर्ने ठाँउ) काउन्टरमा प्रवेश गरि र्याकहरु फुटाएर त्यहाँ भएको करिब रु. ९ हजार चोरी भएको सहकारीका प्रबन्धक शान्ता कुमारी अधिकारीले बताउनु भएको छ। कर्मचारी दिपन पाण्डेका अनुसार सिसि टिभी पनि निकालेर लगेको छ। यद्यपि सबै कारोबारहरु निरन्तर संचालन भइरहेको र शेयर सदस्य तथा बचतकर्ताहरुलाई ढुक्क रहन अध्यक्ष कल्पना राउत ले अनुरोध गर्नु भएको छ।
त्यसैगरी सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. को भवनको दक्षिण तर्फ म्यानेजरको कार्यकक्षको झ्याल फुटाएर गृल निकाली भित्र प्रवेश गरि नगद खोजतलास गरेको पाइएको छ। व्यवस्थापक तेज खड्काका अनुसार सिसि टिभि फुटेजको हार्ड डिस्क निकालेर लगेको छ। त्यहाँ नगद केही नराखिएकोले नगद चोरी नभएको र सबै सामानहरु सुरक्षित रहेको खड्काले बताउनु भएको छ। सबै कारोबारहरु निरन्तर संचालन भइरहेको जानकारी गराउदै र शेयर सदस्य तथा बचतकर्ताहरुलाई ढुक्क रहन, नआत्तिन अध्यक्ष गणेश बस्नेत ले अनुरोध गर्नु भएको।
बेलका नगरपालिकामा दिनप्रतिदिन चोरीको घटनाहरु बढ्दै गएकोले सबै सचेत रहन र सम्बन्धित निकायहरुको ध्यानाकर्षण हुन जरुरी छ। केही दिन अगाडि रामपुरकै ३ वटा सुन पसलहरुमा चोरी भएको थियो भने केही घरहरुमा पनि चोरी भएको थियो।