
७ कार्तिक – बेलका। वाइ वाइ दोस्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा JSYC सुन्दर हरैंचा, मोरङ लाई पराजित गर्दै गाईघाट फुटबल क्लब, उदयपुर फाइनल प्रवेश गरेको छ। गोल रहित निर्धारित समय सकिएपछि ट्राइब्रेकरमा गाईघाटले जित हासिल गर्दै फाइनलको यात्रा तय गरेको हो।
आजको खेल अत्यन्तै कडा प्रतिस्पर्धात्मक, र पुरै खेल रोचकमय भएको थियो। अन्तिम समयमा गाईघाटले पेनाल्टी पाएको थियो। तर उक्त पेनाल्टीमा पनि गोल गर्नबाट गाईघाट चुके पछि खेल गोल रहित मै समय सकिएर ट्राइब्रेकर अर्थात पेनाल्टी शुट आउट गरिएको हो। आजको म्यान अफ दि म्याच गाईघाट फुटबल क्लबका गोल रक्षक अनिल मगर घोषित भए। उनलाई नगद रु.२५००/- साथमा खदा र ट्रफी प्रदान गरि आयोजकहरुले पुरस्कृत गरे।
“बेलकाको सान, खेलकुद बिकासमा हातेमालो हाम्रो अभियान” भन्ने मुल नाराका साथ ब्रदरहुड फुटबल क्लबको आयोजनामा बेलका ६ रंगशालामा भइरहेको गोल्ड कपको भोलि कार्तिक ८ गते बिहिबार एभरेस्ट फुटबल क्लब बराहक्षेत्र, सुनसरी र राष्ट्रिय जागृति क्लब इटहरी, सुनसरी बिच दिउँसो २:३० बजेबाट दोस्रो तथा अन्तिम सेमिफाइनल खेल हुने आयोजकले बताएको छ।
कार्तिक ३ गते सुरु भइ १० गते सम्पन्न हुने यस प्रतियोगिताको बिजेता टिमले नगद रु.१,११,१११/- सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछन भने उपबिजेता टिमले नगद रु.५५,५५५/- सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्ने छन।



