
बेलका, ३१ जेष्ठ।
प्रथम लालबजार च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको खेल सकिएको छ। दोस्रो चरणको खेल अर्थात सेमिफाइनलको पहिलो खेल भोलि जेष्ठ ३२ गते दिउँसो ४ बजे देखि बेलका ४ लालबजार, सुनाखरी युवा क्लब (आयोजक) बि र बेलका ८ यलम्बर स्पोर्टिङ क्लब बीच हुनेछ।

आयोजक बि ले बेलका ८ रियल डुम्रीबोटे क्लबलाई, आयोजक ए ले बेलका १ ह्यापी क्लबलाई, त्यसैगरी बेलका ८ यलम्बर स्पोर्टिङ क्लबले बेलका ३ बुद्ध एकता क्लबलाई हराउदै सेमिफाइनलको यात्रा तय गरेका हुन।

पहिलो चरणको अन्तिम खेल बेलका ६ मुनलाईट स्पोर्ट्स क्लब लामिडाडा र बेलका ३ रातापानी फुटबल क्लब बीच आज भएको हो। उक्त खेलमा मुनलाईट स्पोर्ट्सले सुरुमा १ गोल गर्दै अग्रता लिएको थियो। केही समय पछि रातापानी क्लबले पेनाल्टी पाए र पेनाल्टीमा गोल गर्दै खेल बराबरी भएको थियो। तर मुनलाइट स्पोर्ट्स क्लबले पेनाल्टी नहुनु पर्ने बताउदै गुनासो गरेको थियो। त्यसको केही मिनेट मै फेरि रातापानी क्लबले १ गोल गर्दै २ – १ गोल अन्तरले अग्रता लिएको थियो। हाफ टाइम (आधा समय) नहुदै फेरि रातापानी ले पेनाल्टी पाए पछि मुनलाइट स्पोर्ट्स क्लबले पुनः रेफ्री प्रति असन्तुष्ट व्यक्त गर्न थाले। सामान्य छलफल भयो। मुनलाइट स्पोर्ट्स क्लबले रेफ्रीले पारदर्शी नखेलाएको भन्दै गुनासो गर्न थाले र पेनाल्टी हान्न नदिने यदि पेनाल्टी हान्न दिए खेल छोडेर बाहिरिने निर्णय लिएको थियो। रेफ्रीले पेनाल्टी नै हान्न दिने अन्तिम निर्णय गरेपछि मुनलाइट स्पोर्ट्स क्लब ले मैदान छाडे र बेलका ३ रातापानी फुटबल क्लबले नेट बल हानी खेल जित्दै सेमिफाइनल पुगेको हो।

सुनाखरी युवा क्लब बेलका ४ लालबजार को आयोजना तथा राईडर्स रेन्ज, धरानको सह-प्रायोजकमा आयोजित प्रथम लालबजार च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता २०८० को फाइनल असार ३ गते हुने छ।






