
१५ चैत्र २०८० – बेलका। बेलका ६ देउराली समाजको आयोजना र बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा प्रथम देउराली कप खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता को उद्घाटन भएको छ। कार्यक्रमका प्रमुख अतिथि बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई ले एक औपचारिक कार्यक्रमका बिच उक्त प्रतियोगिताको आज उद्घाटन गरेको हो।

देउराली समाजका अध्यक्ष नरेश राई को अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा अतिथिहरु बेलका ६ का वडा सदस्य बिभा कुमारी राई, नेपाली काङ्ग्रेस बेलका ६ का सभापति खगेन्द्र राई, युवा तथा खेलकुद बिकास समिति बेलका ६ का अध्यक्ष अम्बर राई, नबिन राई, मेनेन्द्र चोङ्बाङ, टोल बिकास संस्थाका पदाधिकारीहरु, शिक्षक, बुद्धिजीवी, खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।

“हाम्रो प्रतिबद्धता समृद्धिका लागि युवा एकता” भन्ने मुख्य नाराका साथ आयोजित भलिबल प्रतियोगितामा उदयपुर, भोजपुर र खोटाङ जिल्ला गरि जम्मा १० वटा टिमहरुको सहभागिता रहेको अध्यक्ष नरेश राई ले बताए। आजको उद्घाटन खेल फाक्टाङ खोटाङ र बेलका झोडापाता उदयपुर बिच भएको र १ – १ सेट बराबरी भएकोले बाकी खेल भोलि चैत्र १६ गते बिहान ७ बजेबाट हुने देउराली भलिबल टिमका क्याप्टेन निर्मल श्रेष्ठले बताए। खेल संगै बिबिध नृत्य समेत आयोजकको कलाकारहरुले प्रस्तुत गरेको सलोन राई ले बताए।

यस भलिबल प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो बिजेता टिमले क्रमश २० हजार, १२ हजार, ५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन। फाइनल यहीँ चैत्र १७ गते हुने आयोजकले जनाएको छ।

देउराली समाजका सल्लाहकार रमना राई ले कार्यक्रम संचालन गरेकि थिइन भने सचिब सुस्मिता राई ले स्वागत मन्तव्य राखेकी थिइन।