
१० कार्तिक – बेलका। वाइ वाइ दोस्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिता २०८१ को उपाधी गाईघाट फुटबल क्लब, उदयपुरले हात पारेको छ। बेलका ६ लेकाली रंगशालामा आज सम्पन्न फाइनल खेलमा एभरेस्ट फुटबल क्लब बराहक्षेत्र, सुन्सरीलाई ० – २ गोल अन्तरले पराजित गर्दै गाईघाटले उपाधी हात पारेको हो।
“बेलकाको शान खेलकुद बिकासमा हातेमालो हाम्रो अभियान” भन्ने मुख्य नाराका साथ ब्रदरहुड फुटबल क्लब द्वारा आयोजित उक्त प्रतियोगिताको बिजेता टिमलाई नगद रु.१,११,१११/- र उपबिजेतालाई नगद रु.५५,५५५/- सहित ट्रफी मेडल र प्रमाणपत्रले अतिथि एवं आयोजकले पुरस्कृत गर्नु भयो। अन्य बिधा अन्तर्गत गाईघाट फुटबल क्लबका उत्कृष्ट गोल रक्षक अनिल मगर, उत्कृष्ट खेलाडी सुदिप श्रेष्ठ, उत्कृष्ट कोच किरण कुमार कार्की, एभरेस्ट फुटबल क्लबका अधिकतम गोलकर्ता आकाश राई, उत्कृष्ट डिफेन्डर सन्जय श्रेष्ठ र उदयमान खेलाडी ब्रदरहुड फुटबल क्लबका राजन मगर घोषित भएका थिए। आजको खेलको म्यान अफ दि म्याच गाईघाट फुटबल क्लबका रबि शङ्कर चौधरी घोषित भएका थिए।
आयोजकका अध्यक्ष रबिन तामाङको अध्यक्षतामा आज सम्पन्न भएको खेलमा प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्की, त्यसैगरी विभिन्न वडाका वडा अध्यक्षहरु, खेलकुद संघ, बेलका नगर युवा तथा खेलकुद बिकास समिति, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, वडा सदस्यहरु, सुरक्षा निकाय, प्रायोजक, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, लगायत खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।
कार्तिक ३ गते सुरु भएको यस प्रतियोगितामा पुर्वको विभिन्न जिल्लाको ८ वटा टिमको सहभागी रहेको थियो। आजको कार्यक्रम आयोजकका संयोजक देबिन मगरले संचालन गर्नु भएको थियो भने उपाध्यक्ष जानुका कार्की दंगालले स्वागत मन्तव्य द्वारा अतिथि तथा उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भएको थियो।
