गाईघाट समाचारदाता, २८ फागुन । त्रिभुवन विश्व विद्यालयद्वारा घोषित यही चैत ५ गते हुने स्ववियु निर्वाचनअन्तर्गत आज मंगलबार मनोनयन दर्ताको कार्यक्रम रहेको भएपनि उदयपुरको सदरमुकाम गाईघाटमा रहेको त्रियुगा जनता बहुमुखी क्याम्पसमा भने स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको छ ।
नेपाल विद्यार्थी संघ र नेकपा एस सम्बद्ध अनेरास्ववियूले विभिन्न माग राखी निर्वाचन कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि मंगलबार हुने मनोनयनको कार्य प्रभावित बनेको छ ।

त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका स्ववियु निर्वाचन प्रमुख टिका पौडेलले विद्यार्थीहरुले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका कारण मनोनयन पत्र वितरणको काम हुन नसकेको बताए । पौडेलले क्याम्पस प्रशासन र असन्तुष्ट विद्यार्थी संगठनबीच छलफल गरेर सहमति खोज्ने प्रयास भइरहेको जानकरी दिए ।
नेपाल विद्यार्थी संघले दावी विरोध गरिएका, प्रमाण नपुगेका विद्यार्थीहरूको समेत नामावली मतदाता सूचीमा राखेकोले तत्काल हटाउनु, क्याम्पस प्रशासनबाट गरिएका गतिविधि सच्याउन र भय रहित एवम् निष्पक्ष वातावरणमा निर्वाचन गराउन जिम्मा लिनुपर्ने र वर्तमान निर्वाचन समिति भंग गरी नयाँ निर्वाचन समिति गठन गर्नुपर्ने माग राखेको छ भने नेकपा एस सम्बद्ध अनेरास्ववियूले भने स्नातक तह प्रथम वर्षमा माघ ११ गते भित्र भर्ना भएका विद्यार्थीलाई मात्र मतदान प्रक्रियामा सहभागी हुन पाउने निर्णय गरेको भन्दै तालाबन्दी गरेको जनाएको छ । यद्यपि स्ववियु निर्देशिका २०८१ ले समेत माघ ११ गते भित्र भर्ना भएका विद्यार्थीलाई मात्र मतदान प्रक्रिया सहभागी हुन पाउने स्पष्ट व्यवस्था गरेको छ भने क्याम्पस प्रशासनले समेत १९ फागुनमा आयोजना गरेको सर्वदलीय बैठकले समेत सोही कुरालाई मान्य गर्नेगरी निर्णय गरेको थियो । अहिले निर्वाचनको मुखमै आएर नेकपा एस सम्बद्ध अनेरास्ववियूले निर्वाचन कार्यालयमा ताला लगाएको विद्यार्थीहरुले बताएका छन ।

त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका प्रमुख डा. कैलाश राईले भने नेपाल विद्यार्थी संघ र नेकपा एस सम्बद्ध अनेरास्ववियूले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि छलफल गरेर विवाद निरुपण गर्ने प्रयास गरिएको भएपनि छलफल बिना निष्कर्ष टुंगिएको जानकारी दिए । उनले अहिले पनि आफुहरु छलफलकै क्रममा रहेको भन्दै सबैको सहमतिमा मनोनय लगायतका निर्वाचनका काम सुरु गर्ने प्रयास गरिरहेको बताए ।
नेपाल विद्यार्थी संघले भने आफूहरुको माग पूरा नभएसम्म ताला खोल्न नसक्ने जनाएको छ । नेपाल विद्यार्थी संघ उदयपुरका सभापति रोशन कार्कीले आफूहरुको माग अक्षरस पालना नहुने हो भने आफूहरु कुनै पनि सहमती गर्न नसक्ने भन्दै यसले चुनाव प्रभावित हुने दावी गरे ।

उदयपुरमा त्रियुगा जनता बहुमुखी क्याम्पससहित बरुवा क्याम्पस गाईघाट र नारद आदर्श शिक्षा क्याम्पस बसाहामा स्ववियु निर्वाचन हुनु पर्नेमा बरुवा क्याम्पसमा पनि संगठन दर्तासँगै भएको सर्वदलीय बैठकमा मतदाताका विषयमा सहमति हुन नसक्दा क्याम्पस प्रशासनले सहमति नहुन्जेलसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरेको सूचना सार्वजनिक गरेको थियो ।
बरुवा क्याम्पसमा पनि स्नातक तह प्रथम वर्षमा माघ ११ गतेपछि भर्ना भएका विद्यार्थीहरुलाई समेत मतदान प्रक्रियामा सहभागी गराउन केही विद्यार्थी संगठनले माग गरेपछि मतदाता नामावली नै प्रकाशन हुन सकेको छैन । उता नारद आदर्श शिक्षा क्याम्पसमा भने आज मनोनयन दर्ता हुने तयारी रहेको क्याम्पस प्रशासनले जनाएको छ ।