
१५ कार्तिक – बेलका। कोशी प्रदेश स्तरीय तेस्रो मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधी बेलका नगरपालिका(आयोजक) ले हात पारेको छ। बेलका नगर युवा तथा खेलकुद बिकास समिति द्वारा बेलका ६ बुद्ध चोक खेल मैदानमा आयोजित बिहिबार सम्पन्न भएको खेलमा ३-२ सेटले त्रियुगा नगरपालिका उदयपुरलाई पराजित गर्दै बेलकाले उपाधी हात पारेको हो।
उपाधी संगै बेलका नगरपालिका(आयोजक) ले नगद रु.१ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे भने उप बिजेता त्रियुगा नगरपालिकाले नगद रु.५० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारे। फाइनल खेलमा दुबै टिमले २-२ सेट जितेको थियो। अन्तिम खेलमा बेलकाको १२ र त्रियुगाको ९ अंक थियो। त्रियुगाले समय साँझ हुँदै गएपछि खेललाई स्थगित गरेर अर्को दिन खेल्ने भनी भन्न थाले र खेलाडीहरु कोट(खेल मैदान) बाट पनि बाहिर निस्किए। अन्तिम फाइनल खेलको कार्यक्रम थियो। त्यहीँ अनुसार आयोजकले निमन्त्रणा गरेका अतिथिहरु समेत उपस्थित थिए। आयोजक र अन्य सबैले त्रियुगाका खेलाडी तथा कोचलाई छिटो कोटमा प्रवेश गरेर खेललाई निरन्तरता दिन आग्रह गरे पनि नमाने पछि अन्तिम २ मिनेटको समय आयोजकले त्रियुगाको लागि दिएको थियो। र २ मिनेट भित्रमा पनि त्रियुगाका खेलाडीहरु कोट भित्र प्रवेश नगरे अंक पनि ३ अंकले बेलकाको अग्रता रहेकोले बेलकालाई बिजेता घोषणा गरिने आयोजकले सचेत गराए। तर उक्त समयमा पनि पनि त्रियुगाका खेलाडीहरु कोट भित्र प्रवेश नगरेपछि आयोजकले बिजेता तथा उप बिजेता घोषणा गरेको हो।
बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्की, बिशेष अतिथि कोशी प्रदेश भलिबल संघका अध्यक्ष, जनप्रतिनिधि, सुरक्षा निकाय, अन्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायत खेलाडी तथा खेल प्रेमीहरुको उपस्थिति रहेको थियो।
खेलकुद बिकास समितिका सचिब दिपेन राना ले कार्यक्रम संचालन गरेका थिए भने भलिबल संयोजक नवीन राईले स्वागत मन्तव्य द्वारा अतिथि तथा उपस्थित सबैलाई स्वागत गरेका थिए।
