बैशाख २७, बेलका । तार्केश्वर नगरपालिका वडा नं १ साङलामा किरात खालिङ राई समुदायद्वारा निर्माण गरिएको सामुदायिक ‘ख्या:ल् तम्रकम’ (चुला घर) को उद्घाटन भव्य रूपमा सम्पन्न भएको छ। खालिङ राई समुदायको सांस्कृतिक, सामाजिक र पारिवारिक एकताको प्रतीकस्वरूप निर्माण गरिएको यो साझा चुला घरको उद्घाटन कार्यक्रम अध्यक्ष बल बहादुर खालिङ राईको सभापतित्वमा सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका माननीय रक्षामन्त्री मानविर खालिङ राई हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा प्रदेशसभा सदस्य गोम्बु शेर्पा (कर्ज्याङ) ले उपस्थित जनाउनुभयो।
अन्य अतिथिहरुमा माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण खालिङ राई, उपाध्यक्ष गौरव खालिङ राई, तार्केश्वर नगरपालिका वडा नं १ का वडाध्यक्ष विदुर सापकोटा, संस्थाका निवर्तमान अध्यक्ष सिता कुमारी खालिङ राई, विभिन्न भाषिक,सामाजिक संघसंस्था तथा समितिका प्रतिनिधिहरु, बुद्धिजीवी, पत्रकार लगायतको सहभागिता थियो।
कार्यक्रममा वक्ताहरुले खालिङ राई समुदायको एकता,ऐतिहासिक संस्कृति, पहिचान, भाषाको संरक्षण र प्रवर्द्धनका लागि यस्तो ख्या:ल् तम्रकम साझा चुला घर जस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।यसै क्रममा निर्माण समितिले सम्पुर्ण आय-ब्यय प्रस्तुत गर्दै केन्द्रिय समिती लाई चुला घरको ताल्चा समेत हस्तान्तरण गरेका छन।
उक्त कार्यक्रममा खालिङ राई समुदायका सदस्यहरू आफ्नो परम्परागत भेषभूषामा सहभागी भएका थिए भने कार्यक्रम सांस्कृतिक प्रस्तुतिले थप रोमान्चक बनेको थियो। ख्या:ल तम्रकम निर्माणका लागी बिशेष सहयोगी ब्यक्ति हरुलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न भएकोछ।