बेलका, १७ जेठ — बेलका नगरपालिकामा जारी प्रथम अन्तर-माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत जनता नमुना मा.बि. गुरुङचौरी र कोशी मा.बि. रामपुर फाइनलमा आमनेसामने हुने भएका छन्।
शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा कोशी मा.बि. रामपुर ले जनता मा.बि. पुवारेथुम्का लाई २–० ले पराजित गर्दै फाइनलको यात्रा सुनिश्चित गरेको हो। यसअघि जनता नमुना मा.बि. ले पहिलो सेमिफाइनल जित्दै फाइनलमा स्थान बनाइसकेको थियो।
प्रतियोगितामा जम्मा ९ वटा माध्यमिक विद्यालय सहभागी थिए। विजेता टिमले रु. २५,००० नगद, शिल्ड, मेडल र प्रमाणपत्र त्यसै गरी उपविजेता टिमले रु. १५,००० नगद शिल्ड,मेडल प्रमाणपत्र सहित पाउनेछन ।
साथै, प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, हाई स्कोरर लाई ट्रफी प्रदान गरिनेछ। सहभागी विद्यालयहरूलाई कदरपत्र, खेल शिक्षकहरूलाई मायाको चिनो, र अनुशासित विद्यालयलाई सम्मानपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल खेल भोलि जेठ १८ गते दिउँसो २:०० बजे लेकाली खेलमैदानमा हुने आयोजक समितिका अध्यक्ष गोपिलाल राई ले बताउनु भयो।